काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीको आन्तरिक प्रतिस्पर्धा सकिएकाले गुट–उपगुट अन्त्य गरी आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले सभापतिमा निर्वाचित गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विजयी र पराजित दुवै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे। सभापति थापाले पनि प्रतिस्पर्धामा पराजित भएका नेताहरूलाई सँगै लिएर हिँड्नुपर्ने उनको भनाइ थियो।
फागुन २१ गतेको निर्वाचनमा भएको पराजयबाट पाठ सिक्दै पार्टीलाई पराजित मानसिकताबाट बाहिर निकाल्नुपर्नेमा जोड दिँदै उनले आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताए।
‘विजय र पराजय भएका साथीहरूलाई सँगै लग्यो भने मात्रै पार्टी एकढिक्का हुन्छ, बलियो हुन्छ र गुटरहित कांग्रेस बन्छ,’ खड्गीले भने।
उनले फरक समूहमा रहेका कारण सार्वजनिक रूपमा एकअर्काको आलोचना नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे। पार्टीका आन्तरिक समस्या आन्तरिक रूपमै समाधान गर्नुपर्ने भन्दै उनले एकअर्कालाई कमजोर देखाउने प्रवृत्तिले जनतामा नकारात्मक सन्देश जाने बताए।
खड्गीले क्रियाशील सदस्यदेखि वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्मका नेता–कार्यकर्ता एकजुट भएर नागरिकका भावना बुझ्न र उनीहरूका अपेक्षाअनुसार काम गर्नुपर्ने बताए। कांग्रेसप्रति सद्भाव राख्ने र पार्टीको अभियानमा जोडिन चाहने नागरिकलाई समेट्दै संगठन सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।
कांग्रेसमा नैतिकता, इमानदारी र सत्य बोल्ने संस्कार विकास गर्नुपर्ने उल्लेख गर्दै उनले नेताहरूले गरेका प्रतिबद्धताअनुसार काम गर्ने र जनतामाझ भ्रम नफैलाउने राजनीतिक संस्कार स्थापित गर्न आफूले पनि सहयोग गर्ने बताए।