काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रियाअनुसार विधि र योग्यताका आधारमा हुँदै जाने बताएका छन्। नयाँ पुस्तालाई तालिम, अनुभव र क्षमता विकासमार्फत नेतृत्वका लागि तयार गर्नुपर्ने उनको भनाइ छ।
पार्टीको मिसन पार्टी जागरण अभियानअन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पुस्तान्तरणको नाममा समाजमा पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाए। जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न नसकेपछि अहिले बाबु–छोरा र हजुरबा–नातिबीच द्वन्द्व बढाउन खोजिएको उनको दाबी छ।
“हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ। तर त्यसको सिस्टम हुन्छ,” ओलीले भने, “नयाँ पुस्तालाई हामीले योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै, ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।”
नयाँ पुस्ताले तत्काल नेतृत्व पाउनुपर्ने दबाब दिनु उचित नभएको तर्क गर्दै उनले जिम्मेवारी हस्तान्तरणका लागि अनुभव र क्षमता आवश्यक पर्ने बताए। प्राध्यापक बन्न लेक्चररबाट सुरु गर्नुपर्ने उदाहरण दिँदै उनले नेतृत्वमा पुग्न पनि निश्चित प्रक्रिया पार गर्नुपर्ने धारणा राखे।
आफू र तत्कालीन नेताहरू कम उमेरमै पार्टी नेतृत्वमा पुगेको प्रसंग उल्लेख गर्दै ओलीले त्यसबेलाको राजनीतिक परिस्थितिलाई अहिलेको अवस्थासँग तुलना गर्न नमिल्ने बताए। अहिले १९–२० वर्षकै उमेरमा पार्टी प्रमुख हुनुपर्ने तर्क हास्यास्पद हुने उनको टिप्पणी थियो।
समाजमा सबै उमेर समूहका व्यक्तिको भूमिका रहने भन्दै उनले काम गर्न नसक्ने अवस्था आएपछि जिम्मेवारी छाड्नुपर्ने बताए। नेतृत्व हस्तान्तरणमा अनावश्यक विवाद गर्नुभन्दा नयाँ पुस्तालाई जिम्मेवारी दिँदै सक्षम बनाउनु आवश्यक रहेको उनको भनाइ छ।
पार्टीभित्र अहिले एकता आवश्यक रहेको उल्लेख गर्दै ओलीले निर्वाचनमा पराजित हुँदैमा एमाले कमजोर नहुने दाबी गरे। उनले कार्यकर्तालाई उच्च मनोबलका साथ जागरण अभियानमा जुट्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। देशलाई सही बाटो देखाउने पार्टी एमाले नै भएको उनको दाबी थियो।