काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको परम्परागत कार्यशैली बदल्दै जनसरोकारका मुद्दा सम्बोधन गरेर नयाँ इतिहास रच्ने बताएका छन्। उनले कांग्रेसको रूपान्तरण आजैदेखि सुरु हुने घोषणा गर्दै विगतको गौरवमा मात्र रमाएर बस्ने छुट पार्टीलाई नभएको स्पष्ट पारे।
पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न तथा नागरिकको भरोसा पुनःआर्जन गर्न उपयोग गर्ने बताए।
‘हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ,’ थापाले भने।
उनले कांग्रेसलाई किसानको आवाज उठाउने, उद्यमीका गुमेका अवसर फर्काउने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको भरोसा बन्ने पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। यस्तो पार्टी भाषणले नभई कामबाट बनाउनुपर्ने उनको भनाइ थियो।
थापाले पार्टीको पुनःसंरचना र नागरिकको विश्वास पुनःआर्जन गर्न आचरण तथा कार्यशैलीमा सुधार आवश्यक रहेको बताए। पार्टीका सबै तहलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै उनले पार्टी सञ्चालनका कार्यपद्धतिमा परिवर्तन गरेर १५औँ महाधिवेशनबाट प्राप्त जनमतलाई मुलुक र जनताको हितमा उपयोग गर्ने प्रतिबद्धता जनाए।