काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग मनमुटाव रहेको भन्ने सार्वजनिक चर्चालाई निराधार बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफू र पोखरेलबीच कुनै मनमुटाव नरहेको स्पष्ट पारेका हुन्।
पछिल्लो समय ओली र पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको चर्चा भइरहेका बेला अध्यक्ष ओलीले त्यसको खण्डन गरेका हुन्। पोखरेलले अध्यक्ष ओलीको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले त्यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने बताए।
ओलीले शीर्ष नेतृत्वबीच पार्टी सञ्चालन र नीतिगत विषयमा समन्वय तथा संवाद कायम रहेको पनि उल्लेख गरे।