काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्रमणको तयारी भइरहेको भए पनि नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयबारे टुंगो लाग्न बाँकी छ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य भइरहेको बताए।
उनले भने, “दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ। उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ। भ्रमणको मिति तय भइरहेको छैन। मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ।”
मन्त्रालयले यसअघि भ्रमणका क्रममा नेपाल–भारतबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेन्डा तयार पार्ने काम भइरहेको जनाएको थियो।
प्रवक्ता क्षेत्रीले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेन्डामाथि पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए।