काठमाडौं। नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र संविधानमाथि खतरा देखिएकाले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पुनः पार्टी राजनीतिमा सक्रिय भएको बताएकी छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो धारणा राखेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन्।
अर्यालका अनुसार भण्डारीले लोकतन्त्र ल्याउन योगदान गरेका राजनीतिक दलहरूले नै यसको रक्षा गर्नुपर्ने बताएकी थिइन्। लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफू पनि सहभागी भएकाले पार्टीमा फर्किएर लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन चाहेको उनको भनाइ थियो।
‘लोकतन्त्र र संविधानको रक्षा गर्ने भनेको जसले लोकतन्त्र ल्याए, तिनै राजनीतिक दलहरूले नै हो,’ भण्डारीको भनाइ उद्धृत गर्दै अर्यालले भनिन्।
बैठकमा केन्द्रीय कमिटी र स्थायी कमिटीमा रिक्त पदपूर्ति तथा पोलिटब्युरो सदस्य मनोनयनबारे स्थायी कमिटी सदस्यहरूले सुझाव दिएका थिए।