काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी कात्तिक ७ देखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ। पार्टीको महाधिवेशन तयारी, सदस्यता नवीकरण, संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारी अभियानका मुख्य उद्देश्य रहेको पार्टीले जनाएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ। बैठकले अभियानको कार्यविधिसमेत पारित गरेको छ।
अभियानका क्रममा पार्टीको महाधिवेशनको तयारी अघि बढाउने, सदस्यता नवीकरण गर्ने तथा संगठन सुदृढीकरणका लागि भेला र बैठक सञ्चालन गरिने ज्वालाले बताए। त्यस्तै, स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि अभियानकै क्रममा गरिनेछ।
सरकारका जनविरोधी गतिविधि र अराजकताविरुद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने तयारीसमेत पार्टीले गरेको छ। अभियानमार्फत सरकारविरुद्ध संघर्षको तयारी गरिने ज्वालाले बताए।
बैठकले ‘ग्रे जोन’ पत्रिकामा प्रकाशित लेखबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्न माग गर्दै विशेष प्रस्तावसमेत पारित गरेको ज्वालाले जानकारी दिए।