काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान गर्ने समय साँझ ७ बजेसम्म थप गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको हो।
यसअघि बिहानदेखि सुरु भएको मतदानका लागि पूर्वनिर्धारित सूचनामा दिउँसो ५ बजेसम्मको समय तोकिएको थियो। तर, निर्वाचन समितिले आज साँझ ७ बजेसम्म मतदान गर्न सकिने व्यवस्था गरेको छ।
समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी सूचनामा महाधिवेशनका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई समय थप गरिएको विषयमा जानकारी गराइएको छ।
निर्वाचन समितिले मतदान प्रक्रियालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समय थप गरेको जनाएको छ।