काठमाडौं। मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधनका लागि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले उच्च तहका कर्मचारीको बढुवा, मानव अधिकार उल्लंघनका पीडितलाई क्षतिपूर्ति र पोर्चुगललाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णयसमेत गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने र विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा क्षतिपूर्तिका लागि सिफारिस गरिएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ। त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव (प्रा.) नवीनराज सिंह र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको सोही श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने निर्णय गरेको छ।
यसैगरी, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।