काठमाडौं। नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले पार्टीमा पुस्तान्तरण र नीतिगत रूपान्तरण गर्दै मुलुकलाई संकटबाट निकास दिन महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले पुरानो पुस्ताको अनुभव र ‘जेन–जी’ तथा ‘अल्फा’ पुस्ताका आकांक्षालाई जोडेर प्रतिस्पर्धी काँग्रेस निर्माण आफ्नो लक्ष्य रहेको बताए।
काँग्रेसलाई निर्वाचनमुखी दलमा सीमित नराखी जनतासँग जोड्ने र जलवायु परिवर्तन, नवप्रवर्तन, युवा रोजगारी तथा एआईजस्ता विषयलाई नीतिको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
उम्मेदवारी फिर्ताको समयसीमा सकिएकाले अब स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने विश्वास उनले व्यक्त गरे। मतपत्र छपाइ र आन्तरिक व्यवस्थापनका कारण मतदानमा केही ढिलाइ भए पनि निर्धारित समयमै मतदान सुरु हुने उनले बताए।