जनकपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन् । जनकपुरमा आयोजित कार्यक्रममा उनले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडेको भन्दै अब ‘नयाँ घर’ निर्माणतर्फ अघि बढ्नुको विकल्प नरहेको बताए ।
निधीले विशेष महाधिवेशन बोलाउने पक्ष नै पार्टी विभाजनको मुख्य जिम्मेवार रहेको आरोप लगाए । लोकतन्त्र सिद्धान्त मात्र नभई प्रक्रिया र पद्धति पनि भएको उल्लेख गर्दै उनले बहुमतका आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने बताए ।
निर्वाचन आयोगमा पेस गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको उनको दाबी थियो । उक्त मतलाई अवमूल्यन गरेर गरिएका निर्णय मान्य नहुने जिकिर गर्दै उनले विशेष महाधिवेशनपछि विकसित घटनाक्रमले पार्टीलाई पुनः एकताबद्ध गर्न नसक्ने बताए ।
उनले भने, ‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो । हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ, तर त्यसलाई बेवास्ता गरियो ।’
निधीले अब संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले कार्यकर्तालाई वडातहबाटै नयाँ ऊर्जाका साथ परिचालन हुन आग्रह गरे । युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आफू वैचारिक रूपमा सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिबद्ध रहेको बताए ।
पञ्चायतकालको उदाहरण दिँदै निधीले संगठन बलियो भए जुनसुकै अवरोध पार गर्न सकिने बताए र कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।