काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले लामो समयदेखि संगठनमा काम गरेका भुइँ तहका कार्यकर्ताको योगदानको मूल्यांकन नभएसम्म पार्टीमा रूपान्तरण सम्भव नहुने बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री पदकी उम्मेदवार संग्रौलाले संगठन सुदृढीकरण, कार्यकर्ताको मूल्यांकन, शिक्षा सुधार, युवा नेतृत्व विकास, सुशासन, पार्टी रूपान्तरण र महिला सशक्तीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताइन्।
उनले भनिन्, ‘जब सम्म भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्याङ्कन हुन्न, तबसम्म कांग्रेसमा रूपान्तरण हुन सक्दैन।’
संग्रौलाले पछिल्लो राजनीतिक परिवर्तनसँगै कांग्रेसले पनि आफूलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने बताइन्। युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै शिक्षा र रोजगारीबीच सम्बन्ध स्थापित गर्नुपर्नेमा उनले जोड दिइन्। विद्यार्थी तथा युवालाई कांग्रेसको राजनीतिमा जोडेर नेतृत्व तहमा पुर्याउनु आफ्नो पहिलो एजेन्डा रहेको उनको भनाइ छ।
युवाले खोजेको सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, चुस्त सेवा प्रवाह र रोजगारीका अवसर सुनिश्चित गर्नुपर्ने बताउँदै संग्रौलाले पार्टीभित्र पनि आन्तरिक सुशासन आवश्यक रहेको बताइन्। ४० वर्षदेखि कांग्रेस संगठनमा वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म काम गरेको उल्लेख गर्दै उनले कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुनुपर्नेमा जोड दिइन्।
अनुभवी, मध्यम र युवा पुस्तालाई जोडेर कांग्रेसलाई अघि बढाउनुपर्ने बताउँदै उनले पार्टीप्रति असन्तुष्ट मतदातालाई पुनः जोड्ने नीति आवश्यक रहेको बताइन्। त्यसका लागि जनताको घरदैलोमा पुगेर संगठन विस्तार गर्नुपर्ने उनको भनाइ छ।
महिलातर्फ महामन्त्री पदमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न कांग्रेसका पालिका, क्षेत्र तथा प्रदेश तहका सभापति, महाधिवेशन प्रतिनिधि तथा देश–विदेशमा रहेका कार्यकर्तालाई उनले आग्रह गरिन्।