कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । पुल निर्माणसँगै फराकिलो सडक र साँघुरा पुलका कारण लामो समयदेखि हुँदै आएको आवागमनको समस्या हटेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका अनुसार पोखरा महानगरपालिका–१ स्थित याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकाको घट्टेखोलानजिक पानीविहाडमा एउटा पुल निर्माण सम्पन्न गरिएको हो ।
कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर उज्ज्वल शर्माका अनुसार याम्दी खोलामा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ एक–एकवटा नयाँ पुल निर्माण गरिएको छ । दुवै पुलको लम्बाइ ५२ मिटर रहेको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिकास्थित पानीविहाडमा निर्माण गरिएको पुलको लम्बाइ १२४ मिटर छ ।
मध्यपहाडी लोकमार्गको याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । तर, सडक फराकिलो भए पनि पुल निर्माण सम्पन्न नहुँदा सडकको चौडाइअनुसार पुलको संरचना नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।
विशेषगरी साँघुरा पुलमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक आवतजावत गर्न समस्या हुने गरेको थियो । यसले यात्रामा ढिलाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको थियो । अहिले सडकको चौडाइअनुसार पक्की पुल निर्माण सम्पन्न भएपछि आवागमन सहज बनेको कार्यालयले जनाएको छ ।
“सडकअनुसारकै पक्की पुल निर्माण भएपछि दुर्घटनाको जोखिम पनि हटेको छ । पुल निर्माणका सबै काम सम्पन्न भएका छन् । यसबाट मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सहज भएको छ”, सूचना अधिकारी शर्माले भने ।
तीनवटै पुल निर्माणका लागि एउटै ठेक्कामार्फत काम अघि बढाइएको थियो । कार्यालयले विसं २०७९ साउन २२ गते स्याङ्जाको गीता कन्स्ट्रक्सनसँग २१ करोड ५९ लाख ७८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गरी तीनवटै पुल सञ्चालनमा ल्याइएको हो ।
मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा तीनवटा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायतका जिल्लातर्फ हुने यातायात थप सहज हुने अपेक्षा गरिएको छ ।
यस लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायतका जिल्लामा आवतजावत गर्छन् । मालवाहक ट्रक, सार्वजनिक यातायात र निजी सवारीसाधनका लागि समेत महत्त्वपूर्ण मानिने यस सडकखण्डमा पुल निर्माण सम्पन्न भएपछि यात्राको समय बचत हुनुका साथै सवारी आवागमन थप व्यवस्थित हुने विश्वास गरिएको छ ।