हेटौंडा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि वागमतीमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। वागमतीबाट सुरु गर्दै संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यसहित पार्टी अघि बढिरहेको उनले बताए।
मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले उज्यालो नेपाल सत्ता प्राप्तिका लागि मात्र नभई आर्थिक रूपान्तरण, सुशासन र विभेद अन्त्यका लागि अघि बढेको बताए।
‘उज्यालो नेपाल कुनै जाति वा वर्ग विशेषको पार्टी होइन । यो विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो,’ उनले भने।
आर्थिक रूपान्तरणको मुख्य आधार ‘हरित क्रान्ति’ हुने र पार्टीले मध्यमार्गी राजनीतिक बाटो अपनाउने उनले बताए।
घिसिङले वर्तमान सरकारले ६ महिनामा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। सरकारलाई असफल भने निष्कर्षमा पुग्ने अवस्था नरहे पनि अब गति, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको आरोप पनि घिसिङले लगाए। एकीकरणका क्रममा पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचार गलत रहेको उनको दाबी थियो।
‘सहमति भएको १२ दिनपछि उक्त सहमति एकतर्फी रूपमा भंग गरियो,’ उनले भने।
घिसिङका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपालले देशव्यापी संगठन विस्तार र राजनीतिक गतिविधि तीव्र बनाएको छ।