काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्रबारे छलफल हुनेछ। यस्तै, समितिअन्तर्गत गठन गरिएका उपसमिति तथा कार्यदलमा सदस्य छनोट गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्याका विषयमा सरोकारवालासँग छलफल गरिनेछ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पौने १२ बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त विधेयकबारे समिति सचिवले जानकारी गराउनेछन्। साथै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुनेछ। छलफलका लागि सम्बन्धित मन्त्री र सचिवलाई समेत बोलाइएको छ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा काठमाडौंको डल्लुस्थित संशोधन मण्डलको स्थलगत अवलोकन गरिनेछ। त्यसपछि विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।