काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वदेखि तल्लो तहसम्म कांग्रेसमा राजनीतिक प्रशिक्षण लिएका व्यक्तिहरू रहेको बताएका छन्।
काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपामा रहेका नेता तथा सांसदहरूको राजनीतिक पृष्ठभूमिप्रति व्यंग्य गरेका हुन्। उनले रास्वपामा रहेका ४० देखि ५० जना व्यक्ति कांग्रेसको प्रशिक्षणबाट हुर्किएका दाबी गरे।
‘रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ,’ थापाले भने, ‘राम्रा कुरा सिकाएरै पठाएका छौँ।’
रास्वपाका सभापति रवि लामिछानेले कांग्रेसका केही नेताले रास्वपामा मत दिएको प्रसंग उठाएको सन्दर्भमा थापाले कांग्रेसलाई त्यसको खासै चिन्ता नरहेको बताए। रास्वपामा पुगेका कतिपय नेता तथा कार्यकर्ता विगतमा कांग्रेसका कार्यक्रममा सक्रिय रहेको स्मरण गर्दै उनले उनीहरूलाई राजनीतिक संस्कार कांग्रेसले नै सिकाएको जिकिर गरे।
रास्वपामा रहेका पूर्वकांग्रेस कार्यकर्ताको उपस्थितिलाई कांग्रेसले स्वाभाविक रूपमा लिएको संकेत गर्दै थापाले यसबारे आफूले थप टिप्पणी नगर्ने बताए।