काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वैचारिक आधार र आदर्शलाई कायम राख्दै कार्यशैली, व्यवहार, भाषा र संस्कारमा परिवर्तन आवश्यक रहेको बताएका छन्। काँग्रेसलाई चुनाव जित्ने र पद प्राप्त गर्ने माध्यममा मात्र सीमित नराखी नागरिकको दुःख–सुखमा साथ दिने संगठनका रूपमा विकास गर्नुपर्ने उनले बताएका हुन्।
काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको काँग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले बिपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका राजनीतिक मूल्य र आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
‘हामी बदलिन आएका छौँ । बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन,’ उनले भने, ‘बिपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो।’
वडा तहसम्म पुग्न प्रतिनिधिलाई निर्देशन
थापाले पार्टीको संगठनलाई कार्यालय र अधिवेशनमा हुने गतिविधिमा मात्र सीमित गर्न नहुने बताए। किसान, युवा, अल्पसङ्ख्यक तथा अप्ठ्यारोमा परेका नागरिकले सहयोग खोज्दा उनीहरूको साथमा उभिन सक्नु नै काँग्रेस हुनुको वास्तविक अर्थ भएको उनको भनाइ थियो।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशनपछि वडा तहसम्म पुगेर जनतासँगको सम्बन्ध मजबुत बनाउन निर्देशन दिए।
‘महाधिवेशन सकिएपछि फोटो खिचेर फर्किने होइन । प्रत्येक प्रतिनिधि वडा–वडामा पुगेर संगठनलाई जनतासँग जोड्नुपर्छ,’ थापाले भने।
काँग्रेस छाडेकालाई फेरि जोड्ने प्रतिबद्धता
थापाले पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसबाट बाहिरिनुमा पार्टीको व्यवहार पनि जिम्मेवार रहेको स्वीकार गरे। पार्टीको व्यवहारबाट चोट पुगेका र काँग्रेसबाट टाढिएका नेता–कार्यकर्तालाई पुनः पार्टीसँग जोड्ने प्रतिबद्धता उनले व्यक्त गरे।
‘तपाईँहरूले काँग्रेस छोड्नुभएको होइन, हाम्रो व्यवहारका कारण काँग्रेसले तपाईँहरूलाई छोडेको हो,’ उनले भने, ‘अब काँग्रेस फेरि तपाईँहरूलाई जोड्न आउनेछ।’
देउवाको सम्मान पार्टी बलियो बनाएर गर्ने भनाइ
पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा उपस्थित नभएको प्रसंग उल्लेख गर्दै थापाले उनको सम्मानका लागि कुर्सी खाली राखिएको बताए। देउवाप्रतिको वास्तविक सम्मान पार्टीलाई अझ बलियो, फराकिलो र जनतासँग जोडिएको संगठन बनाएर गर्नुपर्ने उनको भनाइ थियो।
थापाले १५औँ महाधिवेशनबाट पारित हुने कार्यदिशाले काँग्रेसमा नयाँ ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे। उनले नागरिकसँगको सम्बन्धलाई अझ गहिरो बनाउँदै पार्टीलाई जनताको सुख–दुःखमा साथ दिने संगठनका रूपमा स्थापित गर्ने संकल्प गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे।