काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको खुलामञ्चमा हुन लागेको बताएका छन्। महाधिवेशनबाट पार्टीको नीति र संरचना दुवैमा सुधार गरिने उनको भनाइ छ।
शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा चालिसेले नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको यही भूमिबाट नयाँ राजनीतिक दिशा तय गर्न लागिएको बताए। उनका अनुसार २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपी कोइरालाले २०३६ सालको जनमतसंग्रहका सन्दर्भमा यही स्थलबाट ऐतिहासिक सम्बोधन गरेका थिए। २०४६ सालको राजनीतिक परिवर्तनका लागि गणेशमान सिंहले पनि यहीँबाट परिवर्तनको उद्घोष गरेका थिए।
‘अबको राजनीति पदको लागि होइन, परिणामको लागि हुनुपर्छ,’ चालिसेले भने।
बीपीको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार महाधिवेशनले तय गर्ने उनले बताए। आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई त्यससँग जोडेर अघि बढाउने कांग्रेसको लक्ष्य रहेको उनको भनाइ छ।
युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग तथा प्रवासी नेपालीको प्रतिनिधित्व र सुशासनलाई प्राथमिकतामा राखिनेछ। विधान संशोधनमार्फत सांगठनिक संरचनामा सुधारका विषयसमेत अघि बढाइनेछ। नेतृत्व चयनभन्दा नीति निर्माणलाई प्राथमिकता दिइएको चालिसेले बताए।
आइतबारदेखि सुरु हुने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक दिशाबारे छलफल हुनेछ। सभापति गगन थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितको कार्यपत्र प्रस्तुत गर्नेछन्। उपसभापति विश्वप्रकाश शर्माले समसामयिक विषयमा प्रतिवेदन पेस गर्नेछन्।
प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ। केही जिल्लामा निर्वाचन तथा मतगणना जारी रहेकाले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौं आइपुग्ने कांग्रेसले जनाएको छ। आवास, भोजन तथा कार्यक्रमसम्बन्धी सूचना क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराइनेछ।
महाधिवेशन अवधिमा दैनिक दुईपटक पत्रकार सम्मेलन गरी छलफलका विषय, प्रतिनिधिका धारणा तथा पार्टीका गतिविधिबारे जानकारी दिइने कांग्रेसले जनाएको छ।