काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन आयोजना गर्न लागिएको हो।
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ। बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा हुने कांग्रेसले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनको निर्वाचन कार्यक्रम २१ र २२ असोजका लागि तय गरिएको छ। शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता गरिएको थियो।
प्रतिनिधि दर्ताका लागि रु ३ हजार ५ सय शुल्क तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। दर्ता भएका प्रतिनिधिलाई पार्टीले झोला उपलब्ध गराएको छ। झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना तथा खाजा–नास्ताका कुपन र प्रतिनिधि परिचयपत्र राखिएको छ।
कांग्रेसका अनुसार यसपटकको महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रवक्ता चालिसेले यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो महाधिवेशन हुने दाबी गरे।
शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी नीति चयनको अधिवेशनका रूपमा अघि बढाउने प्रयास गरिने बताए।
कांग्रेसले केही स्थानमा अधिवेशन हुन बाँकी रहे पनि त्यसको संख्या १० भन्दा कम रहेको जनाएको छ। बाँकी रहेका स्थानको अधिवेशन पनि शनिबारसम्म सम्पन्न हुने र मतदान भएका स्थानमा शनिबार रातिसम्म मतगणना सकिने प्रवक्ता चालिसेले बताए।
उद्घाटनमा विभिन्न दल र विदेशी पाहुना आमन्त्रण
कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रमुख राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरेको छ। नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत प्रतिपक्षमा रहेका दललाई पनि निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।
त्यस्तै भारत, चीन, अमेरिका लगायत आधा दर्जनभन्दा बढी मुलुकबाट विदेशी पाहुनालाई आमन्त्रण गरिएको छ। तर उद्घाटन समारोहको मिति परिवर्तन भएकाले विदेशी पाहुनाको उपस्थिति अपेक्षाकृत न्यून हुनसक्ने कांग्रेसले जनाएको छ।
उद्घाटनपछि सुरु हुने बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषयसँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गरिनेछ। प्रवक्ता चालिसेका अनुसार सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन्।
प्रतिनिधिका लागि विभिन्न क्षेत्रमा होटल बुकिङ
महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौंका विभिन्न क्षेत्रमा होटल बुकिङ गरिएको छ।
आवास व्यवस्थापन समितिका सदस्य तथा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रमा करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुक अट्ने गरी होटल व्यवस्थापन गरिएको छ।
प्रदेशअनुसार आवासको व्यवस्था पनि छुट्टाछुट्टै क्षेत्रमा गरिएको छ। कोशी र मधेश प्रदेशका प्रतिनिधिका लागि गौशाला तथा कोटेश्वर, बागमतीका लागि लाजिम्पाट तथा ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु तथा नयाँ बसपार्क र कर्णाली तथा सुदूरपश्चिमका लागि सुन्धारा तथा कलङ्की क्षेत्रमा होटलको व्यवस्था गरिएको छ।
विदेशस्थित जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा आवासको व्यवस्था गरिएको छ।
कांग्रेसका अनुसार जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले होटलको खर्च आफैँ बेहोर्नुपर्नेछ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्नेछ।
प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरिएको प्रवक्ता चालिसेले बताए।
३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क
महाधिवेशनमा सहभागी प्रतिनिधिलाई स्वास्थ्य सेवा उपलब्ध गराउन खुलामञ्चमा हेल्थ डेस्क स्थापना गरिएको छ। स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ पाँचवटा स्टलसहितको हेल्थ डेस्क सञ्चालन हुनेछ।
हेल्थ डेस्कमा सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा उपलब्ध गराइनेछ। दुई सिफ्टमा सञ्चालन हुने डेस्कमा चिकित्सक, पारामेडिक्स र नर्ससहित ३० जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
महाधिवेशनस्थलमा रक्तचाप तथा सुगर परीक्षण, सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइने डा. केसीले जानकारी दिए।
गम्भीर अवस्था आए तत्काल अस्पताल लैजान वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धरास्थित बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ। त्यसका लागि महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।
रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक परे ‘अन कल’ सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ। होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या देखिए आवश्यकताअनुसार होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको डा. केसीले बताए।