काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ आएका प्रतिनिधि तथा शुभेच्छुकका लागि विभिन्न क्षेत्रका होटलमा आवासको व्यवस्था गरिएको छ।
पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रमा होटल बुकिङ गरेको हो।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकका लागि पाँच हजार कोठा व्यवस्थापन गरिएको छ।
प्रदेशअनुसार प्रतिनिधिका लागि विभिन्न क्षेत्रमा होटलको व्यवस्था गरिएको छ। कोशी र मधेस प्रदेशका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमतीका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल तथा गण्डकी र लुम्बिनीका प्रतिनिधिलाई बालाजु र नयाँ बसपार्क क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि सुन्धारा र कलङ्की क्षेत्रमा होटलको व्यवस्था गरिएको छ। विदेशबाट आएका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिलाई भने लाजिम्पाट र ठमेल क्षेत्रमा बस्ने व्यवस्था गरिएको छ।
अध्यक्ष ढकालले प्रतिनिधि तथा शुभेच्छुकका लागि सहुलियत दरमा आवासको व्यवस्था मिलाइएको बताए। उनका अनुसार महाधिवेशन अवधिका लागि करिब पाँच हजार होटल कोठा व्यवस्थापन गरिएको हो।
जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले आफ्नो आवास तथा होटल खर्च आफैँ व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले जानकारी दिए।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ। आवाससम्बन्धी समस्या भए नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घमार्फत सहजीकरण गरिने जनाइएको छ।
कांग्रेसले आफ्नो वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यसम्बन्धी विवरणसमेत राखेको जनाएको छ। प्रतिनिधिले आवश्यक जानकारी वेबसाइटबाट हेर्न सक्नेछन्।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।