काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र विवाद देखिए पनि कांग्रेस विभाजन नभएको बताएका छन् । महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शनिबार उनले पार्टीभित्रको विवाद समाधान गर्ने जिम्मेवारी आफूहरूको भएको बताए ।
महामन्त्रीमा निर्वाचित भए पार्टीभित्रको विवाद समाधानलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ । आफू बीपी कोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएको बताउँदै शर्माले आफू ‘प्रो–कोइराला’ रहेको उल्लेख गरे ।
‘म वीपी कोइरालाको अनुयायी हो । गिरिजाबाबुको कार्यकर्ता हो । मोरङमा बस्ने मान्छेहरू प्रो कोइराला नै हुन्छन्, म प्रो कोइराला नै हो,’ उनले भने, ‘काँग्रेस फुटेको छैन। अलिअलि झमेला, झैझगडा लोकतान्त्रिक पार्टीमा भइरहन्छ । यसलाई मिलाउने कर्तव्य हाम्रो हो, महामन्त्री भएपछि पहिलो काम पार्टी मिलाउने मै हुन्छ ।’
कांग्रेसको विरासत र छवि जोगाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । व्यक्ति भन्दा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका विचार बोकेर हिँड्ने कार्यकर्ता महत्वपूर्ण रहेको उनको भनाइ छ ।
सभापतिमा कसलाई समर्थन गर्ने भन्नेबारे भने शर्माले अहिले नै खुलाउन नमिल्ने बताए । सभापतिका आकांक्षीमध्ये उम्मेदवारी घोषणा भइसकेपछि गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने उनले बताए ।
‘सभापतिको उम्मेदवारी घोषणा भइसके पछाडि युवाहरूलाई अथवा युवाहरूका विचारलाई गत वर्षको जेन–जी मुभमेन्टको सेन्टिमेन्टलाई क्यारी गर्न सक्ने र लोकतन्त्रलाई बचाउन सक्ने युवा उम्मेदवारमध्ये मेरो समर्थन रहन्छ,’ उनले भने ।
शर्माले आफूले छुट्टै टिम नबनाउने पनि स्पष्ट पारेका छन् ।