काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारी मनोनयन दर्ता गरिनेछ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी सूचनामा तोकिएको समयभित्र योग्य उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ। निर्वाचनसम्बन्धी विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गरिने समितिले जनाएको छ।
मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। विभिन्न पदका आकाङ्क्षीहरूले यसअघि नै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु गरिसकेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ।