काठमाडौँ। प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा ‘सेटिङ’ भएको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले नियुक्तिको प्रक्रिया पारदर्शी नभएको दाबी गरिन्। उनका अनुसार कार्यविधि बनाउन गठित कार्यदलका संयोजक किरण तिम्सिनाले पछि आफू नियुक्त हुने गरी मापदण्ड तयार पारेका थिए।
उनले तिम्सिनाले सामाजिक सञ्जालमा राखेको ‘ओ ब्वाइ दिस वाज् टफ’ पोस्ट तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीसँग केक काटेर उत्सव मनाएको तस्बिरलाई त्यसको प्रमाणका रूपमा प्रस्तुत गरिन्। असोज १ गते सर्टलिस्ट र २ गते अन्तर्वार्ता गरी सोही दिन मन्त्रिपरिषद्बाट निर्णय भए पनि पाँच दिनसम्म सूचना सार्वजनिक नगरेको उनको आरोप थियो।
‘आफैँ प्रश्नपत्र बनाउने, आफैँ सहभागी हुने र विज्ञापन खुल्नुअघि नै उत्सव मनाउने यो कस्तो सुशासन हो ?’ उनले प्रश्न गरिन्।
ओलीले घटनाबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रवासी नेपालीको नागरिकता निरन्तरताको विषयमा समेत सरकारको नीति स्पष्ट हुनुपर्ने बताइन्। गैरआवासीय नेपालीले नागरिकता निरन्तरताको माग गरिरहेका बेला परराष्ट्रमन्त्रीबाट सम्भव नभएको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।