काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा सुशासन र विकासका लागि बलियो आधार तयार भएको दाबी गरेका छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको काम नभएको भन्ने आलोचना गलत भएको बताए। छोटो अवधिमा ठूला संरचना निर्माण नभए पनि सरकारले भविष्यका लागि आवश्यक आधार तयार गरिरहेको उनको भनाइ छ।
आफ्नो निर्वाचन क्षेत्र भक्तपुर–२ मा ९० करोड रुपैयाँभन्दा बढीको बजेटमार्फत सडक, पुल र सांस्कृतिक सम्पदा संरक्षणका काम भइरहेको उनले जानकारी दिए। ६ महिनाको अवधिमा भ्रष्टाचारसम्बन्धी कुनै काण्ड नभएको दाबी गर्दै उनले चालु वर्षलाई सुशासनको आधार वर्षका रूपमा लिनुपर्ने बताए।
‘सरकारले आफ्नो नियत सफा राखेर काम गरिरहेको छ,’ खत्रीले भने, ‘विगतका सरकारजस्तो आफन्त र पार्टी जोगाउने काममा यो सरकार लागेको छैन।’
सहकारी ठगी प्रकरणमा जिबी राईको विषयमा मात्र केन्द्रित नभई सबै सहकारी ठगीमा संलग्नलाई कारबाही गर्नुपर्ने उनले बताए। प्रधानमन्त्री र सरकारले कसैलाई जोगाउने काम नगरेको दाबी गर्दै उनले रवि लामिछानेको सन्दर्भमा भएको कानुनी प्रक्रियालाई ‘कोर्स करेक्सन’ भएको टिप्पणी गरे।