काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता, अनुशासनहीनता र पार्टी नीतिविपरीतका गतिविधि स्वीकार्य नहुने बताएका छन्।
हालै सम्पन्न एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका निर्णय तथा सन्देशबारे मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पार्टी नीति र अनुशासनविपरीत जाने तथा अराजकता फैलाउने गतिविधिमा संलग्न जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका हुन्।
ओलीले पार्टीविरुद्ध तथा विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने र गतिविधि गर्ने विषयमा पनि पार्टीले गम्भीरतापूर्वक हेर्ने बताए।
एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक असोज ५ देखि ८ गतेसम्म ललितपुरमा सम्पन्न भएको थियो। बैठकका निर्णय कार्यान्वयन गर्दै पार्टीलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा ओलीले जोड दिए।
उनले लोकतन्त्रको रक्षा र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई पार्टीको मुख्य गन्तव्यका रूपमा अघि बढाउनुपर्ने बताए। लक्ष्यमा ‘अर्जुनदृष्टि’ बनाएर केन्द्रित हुनसमेत उनले पार्टी पंक्तिलाई आग्रह गरे।
तत्काल अन्य कुनै दलसँग पार्टी एकता गर्ने सम्भावना नरहेको स्पष्ट पार्दै ओलीले आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने गर्न सकिने बताए।
ओलीले राजधानी वा सुविधाजनक स्थानमा बसेर जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकिने बताए। उनले नेताहरूलाई ‘टुरिस्ट’ जस्तो नबनी सम्बन्धित क्षेत्रमा पुगेर वस्तुस्थिति बुझ्न र त्यहीँबाट योजना निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिए।
पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल र रघुजी पन्त तथा महासचिव शंकर पोखरेललगायत नेताहरू सहभागी थिए।