काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सरेको छ। यसअघि असोज १६ गतेदेखि गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन्।
कांग्रेसका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सञ्चालन भइरहेका छन्।
देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।