काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत करिब ४४ हजार युवा पार्टीका विभिन्न तहको जिम्मेवारीमा निर्वाचित भएका छन्। कांग्रेसको नयाँ विधानअनुसार ३५ वर्षमुनिका ४३ हजार ९८६ युवाले पार्टीको पदिय जिम्मेवारी पाएका छन्।
विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलका अनुसार ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाका दरले २० हजार २२९ युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। क्रियाशील सदस्यताको संख्याका आधारमा कतिपय वडामा सात जनासम्म युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेकाले औसतमा पाँच जनाका दरले ३३ हजार ७१५ युवा क्षेत्रीय प्रतिनिधि बनेका छन्।
त्यस्तै, गाउँपालिकाका प्रत्येक वडाबाट एक जना र नगरपालिकाका प्रत्येक वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित भएका छन्। यसअनुसार गाउँपालिकातर्फ ३ हजार २१५ र नगरपालिकातर्फ ७ हजार ५६ गरी १० हजार २७१ युवा वडा सदस्य बनेका छन्।
क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ र वडा सदस्य १० हजार २७१ गरी ४३ हजार ९८६ युवाले पार्टीको पदिय जिम्मेवारी पाएका छन्। ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा उम्मेदवारबीच प्रतिस्पर्धा भएकाले महाधिवेशनमा करिब एक लाख युवाले उम्मेदवारी दिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले बताए।
क्षेत्रीय प्रतिनिधिबाट गाउँपालिका तथा नगरपालिका कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना निर्वाचित भइसकेका छन्। प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा पनि क्षेत्रीय प्रतिनिधिबाटै युवा सहभागी हुँदैछन्।
यसैगरी, प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक–एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुँदैछन्।
नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था छ। सातै प्रदेशको कार्यसमितिमा दुई महिलासहित कम्तीमा पाँच जना युवा सदस्य रहनेछन्। केन्द्रीय कार्यसमितिमा पनि पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवती गरी १४ जना युवा प्रवेश गर्ने व्यवस्था गरिएको छ।
पौडेलले कांग्रेसको संगठनमा युवाको सहभागिता उल्लेख्य रूपमा बढेको बताए। “कांग्रेस अब पुरै युवामय पार्टी भइसकेको छ,” उनले भने।