काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण विशिष्ट व्यक्तिहरू (भीआईपी) लाई पक्राउ गर्ने क्रम जारी राखे सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ शैली अपनाएको भए त्यसको परिणाम सरकारकै लागि घातक हुन सक्ने बताएका हुन् ।
उनले यस्ता घटनाबाट सरकारले पाठ सिक्नुपर्ने र आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आग्रह गरे ।
प्रचण्डले सुरक्षा चुनौती रहेको भन्दै व्यक्तिलाई पक्राउ गर्नु उपयुक्त नभएको तर्क गरे । उनका अनुसार वास्तवमै सुरक्षा जोखिम रहेको भए सम्बन्धित व्यक्तिको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने थियो ।
‘सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्यो नि ।’
उनले पछिल्ला घटनाबारे थप तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने पनि बताए ।
यसैबीच, प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालको तर्फबाट उठाउनुपर्ने विषय नै उठाएको टिप्पणी गरेका छन् ।
महासभामा प्रधानमन्त्रीले राखेको अभिव्यक्तिलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको बताउँदै उनले प्रधानमन्त्रीको ठाउँमा अरू कोही भएको भए पनि त्यही विषय उठाउने धारणा राखे ।