काठमाडौं। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएपछि नेपाली कांग्रेसले विभिन्न जिल्लामा अधिवेशनअन्तर्गतका निर्वाचन कार्यक्रमको मिति पुनः तय गर्न पत्राचार गरेको जनाएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत मौसम विभाग तथा सम्बन्धित निकायबाट जारी सूचना र स्थानीय अवस्थालाई ध्यानमा राखेर निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका हुन्।
उनले अहिलेको अवस्थामा नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको बताएका छन्। साथै, पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वयमा सक्रिय हुन आग्रह गरेका छन्।
‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो,’ थापाले भनेका छन्।
देशका विभिन्न स्थानमा वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेका बेला थापाले पार्टीका नेता–कार्यकर्तालाई स्थानीय अवस्था बुझेर प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरेका हुन्।