सर्लाही– सर्लाहीको बागमती नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ। वर्षासँगै गत शनिबार गएको पहिरोले बागमती नगरपालिका–११ का तीन स्थानमा सडक पुरिएपछि यातायात सेवा ठप्प भएको हो।
हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानका अनुसार पहिरोले सडकमा क्षति पुर्याएपछि उक्त खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक बन्द हुँदा स्थानीयवासीलाई आवतजावत गर्न र बिरामीलाई अस्पताल पुर्याउनसमेत समस्या भएको छ।
अन्तरप्रदेशीय सम्पर्क सडकका रूपमा रहेको यस मार्गले पूर्वपश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्छ। कर्मैया–पिपलमाडीको १६ किलोमिटर सडकखण्ड अवरुद्ध भएपछि यात्रुहरू पैदल हिँड्न बाध्य भएका छन्।
सडक बन्द हुँदा हरिहरपुरगढी गाउँपालिका क्षेत्रका करिब एक दर्जन गाउँका बासिन्दा दैनिक उपभोग्य वस्तु खरिद, औषधोपचार तथा अन्य कामका लागि लामो दूरी तय गरेर हेटौँडा वा सिन्धुली पुग्नुपर्ने अवस्था आएको छ।
व्यवसायी किस्मतराज मैनालीका अनुसार छोटो दूरीको सडक पहिरोले अवरुद्ध भएपछि सर्वसाधारणले लामो बाटो हुँदै हेटौँडा पुग्नुपर्ने बाध्यता छ। चाडपर्व नजिकिँदै गर्दा सडक बन्द हुँदा उपभोक्ता र व्यापारी दुवै समस्यामा परेको उनले बताए।
यातायात व्यवसायी कर्मा लामाले सडक अवरुद्ध भएपछि कर्मैया–पिपलमाडी खण्डमा सञ्चालन हुने बोलेरोसहितका साना सवारीसाधन थन्क्याएर राख्नुपरेको बताए।
यातायात सेवा ठप्प भएपछि स्थानीयवासी पैदलै आवतजावत गर्न तथा दाल, चामललगायत दैनिक उपभोग्य सामग्री बोकेर ओसार्न बाध्य भएका छन्।
बागमती र मधेस प्रदेशलाई जोड्ने ‘लिंक रोड’ का रूपमा रहेको कर्मैया–पिपलमाडी सडकखण्डको सर्लाहीतर्फ चुरे क्षेत्रमा करिब डेढ किलोमिटर सडक पहिरोको उच्च जोखिममा रहेको छ।