काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले विपद्पछिको प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको पार्टी प्रवक्ता जगदीश खरेलले बताए ।
बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको खोज, उद्धार तथा राहतको अवस्थाबारे ब्रिफिङ गरेका थिए । उद्धार तथा राहतको काम जारी रहेको र पुनर्निर्माण तथा पुनःस्थापनाका काम पनि सँगसँगै अघि बढिरहेको जानकारी बैठकलाई गराइएको खरेलले बताए ।
पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने तथा अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्नेमा बैठकले जोड दिएको छ । कानुनी अवरोध भए आवश्यक व्यवस्था गरी परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
‘विपद्पछिको राहत तथा पुनःस्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ,’ खरेलले भने, ‘पहिचान हुन नसकेका शवको डीएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्यो र पीडित परिवारलाई राहत दिनुपर्यो।’
१० भदौमा रसुवा बाढी आएपछि स्थगित गरिएका पार्टीका गतिविधि आइतबारदेखि नै पुनःसञ्चालन गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।