काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन असोज ४ गतेसम्म ७३ जिल्लाका ६ हजार १ सय ३२ वडामा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ती वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । असोज ४ गते पनि विभिन्न जिल्लामा अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
ताप्लेजुङदेखि कञ्चनपुर र कैलालीसम्मका ७३ जिल्लामा अधिवेशन सम्पन्न भएको हो । केही जिल्लाका निश्चित निर्वाचन क्षेत्र र वडामा भने अधिवेशन हुन बाँकी छ ।
निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङका साथै सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा अधिवेशन हुन बाँकी छ । असोज ४ गते सम्पन्न हुन नसकेका अन्य वडा अधिवेशन पनि असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ ।