काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका कारण उत्पन्न संकटमा नेपालले विश्वसामु नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र साहलाई दीर्घकालीन दृष्टिकोणसहित नेपालबाट विश्वको साझा आवाज प्रस्तुत गर्न सुझाव दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ शृंखला ‘हिमचुलीको हलचल : भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवादमा शर्माले जलवायु परिवर्तनबारे नेपालको साझा राष्ट्रिय दृष्टिकोण र नीति बनाउनुपर्ने बताए।
उनका अनुसार नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना समस्या राखेर फर्किने मात्र होइन, कार्बन उत्सर्जन घटाइरहेका साना राष्ट्रहरूको साझा नेतृत्व गर्ने योजना र अभियानसहित अघि बढ्नुपर्छ। जलवायु संकटमा ठूला राष्ट्रहरूको भूमिका रहे पनि उनीहरूसँग द्वन्द्व वा मोर्चाबन्दीभन्दा तथ्यमा आधारित संवाद र सहकार्यबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ।
शर्माले आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री साहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको मानवीय तथा भौतिक क्षतिको तथ्यपूर्ण विवरण प्रस्तुत गर्नुपर्ने बताए। उनले नेपालको क्षतिलाई क्षतिपूर्तिको दाबीमा मात्र सीमित नगरी दीर्घकालीन जलवायु समाधानका लागि विश्वका साना राष्ट्रहरूको साझा आवाजको नेतृत्व गर्नुपर्ने बताए।
‘एउटा सानो हिमवत्खण्डमा रहेको राष्ट्रले सिङ्गो संसारको नेतृत्व गर्नसक्छ भन्ने सन्देश पनि दिनुपर्छ,’ शर्माले भने।
उनले जलवायु संकट समाधानका लागि कूटनीतिक परिपक्वता, सहकार्यको बृहत्तर भावना र मानवताको साझा दायित्वलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्नुपर्ने बताए। प्रधानमन्त्रीलाई यससम्बन्धी सुझाव भेटेरै र लिखित रूपमा समेत दिने उनले जानकारी दिए।