काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक तथा कानुनी दायित्व थप प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुझ्दै पौडेलले भ्रष्टाचारजन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक, प्रविधिमैत्री र नतिजामुखी बनाउनुपर्ने बताए ।
‘आयोगले संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी र कार्यगत स्वायत्तता कायम राखी निष्पक्षता र निर्भीकताका साथ अघि बढ्नुपर्ने ठान्दछु,’ पौडेलले भने ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका थिए । पौडेलले प्रतिवेदनमा समेटिएका सुझाव र उपलब्धि सुशासन कायम गर्ने महत्वपूर्ण आधार बन्ने बताउँदै संसद् र सरकारले त्यसलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।