सरकार र प्रतिबन्धित समूह विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ ।
वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ ।
विप्लवको वार्ता टोलीमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन्। ‘हिजो साँझ नै उहाँहरु हिँड्नु भएको हो। तर सुरक्षाका कारण आज मात्र काठमाडौं आइपुग्नु भएको हो।’ बालुवाटारमा रहेका एक नेताले केटिएम दैनिकसँग भने। सरकारले मंगलबार ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको दुई सदस्यीय टोली बनाएको छ । सरकारी वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।
सरकारले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवादेखि मुद्धासम्म फिर्ता लिने तयारी थालेको जनाइएको छ। सरकारले २८ फागुन २०७५ मा मन्त्रिपरिषद् बैठक बसेर नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
०७१ मङ्सिर ८ मा वैद्य र बादलसहितका नेतालाई सङ्केत गर्दै विप्लवले ‘बुढाले क्रान्ति गर्न सक्दैनन्’ भनेर आफ्नो बाटो रोजे । वैद्यसँग पनि विप्लवले सम्बन्ध तोडे ।
बादल वैद्यसँगै छुटे । वैद्य र बादललाई छाडेर विप्लवले आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे । आठौँ महाधिवेशनको बन्द सत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखे । विप्लवले एकीकृत क्रान्तिको कार्यदिशा लिएर विप्लव अघि बढे ।
बादलले पछि एकताको कोर्स अघि बढाए । बादल वैद्यसहितको एकताको पक्षमा थिए । अन्तिमसम्म प्रयास पनि गरे । तर राजनीतिक–वैचारिक कार्यदिशा नमिलेसम्म एकतामा जान नसकिने वैद्यको लाइन आयो । बादलले २०७३ जेठ ६ मा निः सर्त एमाओवादीसँग पार्टी एकता गरे ।
त्यो निर्णय उनलाई ‘लक्की’ साबित भयो । उनी तीन वर्षदेखि सरकारका गृहमन्त्री छन् । उनी गृहमन्त्री बनेपछि सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको थियो । हाल उनी गृहमन्त्री बादल वार्ता टोलीका संयोजक बनेका छन् । उनले नै विप्लवलाई मूलधारमा ल्याउन वार्ता गर्ने छन् । विप्लव नेकपाको वार्ता टोलीमा प्रकाण्ड छन् । वार्ताको टेबलमा बादल र प्रकाण्ड आमनेसामने हुनेछन् । प्रकाण्डले विप्लवको प्रतिनिधित्व गरिरहँदा यसलाई यसरी लिन सकिन्छ । विप्लव र बादल आमने सामने छन् ।