धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन मर्मत कार्य तीव्र पारिएको छ । सडक विभागका अनुसार मौसम अनुकूल रहे आज साँझसम्म उक्त खण्डमा यातायात सञ्चालन गर्ने लक्ष्य छ ।
गत भदौ १० गते र त्यसपछि त्रिशूली नदीमा आएको बाढीले सडकको एक हिस्सा भासिएपछि परेवा भीर खण्डमा यातायात प्रभावित हुँदै आएको छ। नदी कटान र सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त स्थानमा प्राविधिक टोलीले सडकको ग्रेड मिलाउने र सतह सम्याउने काम गरिरहेको विभागले जनाएको छ ।
सडकलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक मर्मत तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेप्दै आएका छन् । सडक सञ्चालनमा आएपछि राजमार्गमा सवारी चाप घट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ ।