काठमाडौं। सडकको तातो कालोपत्रे, त्यसैको छेउमा ओछ्याइएको पातलो म्याट्रेस र माथि टाँगिएको त्रिपाल। त्यही त्रिपालमुनि सात दिनदेखि दिन–रात बिताइरहेका छन् सयौँ ऋणपीडित। कोही घाम छल्न सारीको आँचलले टाउको छोपिरहेका छन्, कोही फलामे ब्यारिकेडमा अडेस लागेर टोलाइरहेका छन्। सडकपेटीमै भान्सा छ, ओछ्यान छ र धर्ना पनि।
हरिहरभवनमा धर्नामा बसेका यी नागरिक लघुवित्त, मिटरब्याज र सहकारीको ऋण तथा साहु–महाजनको शोषणबाट घरबार गुमाएका हुन्। देशका विभिन्न ठाउँबाट काठमाडौं आएका उनीहरूमध्ये सुनसरीको इनरुवाबाट १९ दिन पैदल हिँडेर राजधानी आइपुगेका पनि छन्।
लामो यात्राले उनीहरूका पैताला फुटेका छन्। कुर्कुच्चामा ठेला उठेका छन्। चप्पल खिइएर सकिएका छन्। तर उनीहरूको माग पूरा हुने बाटो अझै खुलेको छैन।
सडकपेटीमा खुट्टा पसारेर बसेकी एक वृद्धाको पैतालामा गहिरा धाँजा छन्। छाला उप्किएको छ। घाउमा सडकको धुलो जमेको छ। उनीसँगै रहेकी सानी नातिनी भोक र प्यासले रोइरहेकी थिइन्। प्लास्टिकका पानीका जार, सडकछेउमा झुन्ड्याइएका लुगाका पोका र त्रिपालमुनिको सानो भान्सा उनीहरूको अहिलेको दैनिकी हो।
घाम चर्किँदा त्रिपालभित्र बस्न सकिँदैन। पानी पर्दा चुहिन्छ। त्यही ठाउँमा उनीहरू खाना पकाउँछन्, सुत्छन् र धर्ना दिन्छन्। वृद्धवृद्धा थकानले सडकपेटीमै पल्टिन्छन्। महिलाहरू घाम छल्न सारीको आँचल वा छाता प्रयोग गर्छन्।
धर्नास्थलमा टाँगिएका प्लेकार्डमा उनीहरूका माग लेखिएका छन्—‘हाम्रो घर फर्काइदेउ सरकार, हाम्रो परिवार फर्काइदेउ !’ अर्कोमा लेखिएको छ, ‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ । हामीलाई हाम्रो घर, परिवार र भविष्य फर्काइदेउ ।’
एउटा प्लेकार्डमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तस्बिर राखेर अन्तर्राष्ट्रिय समुदायसँग समेत न्यायको अपिल गरिएको छ। आफ्नै सरकार र स्थानीय नेतृत्वबाट सुनुवाइ नभएपछि अन्तर्राष्ट्रिय समुदायसम्म आवाज पुर्याउनुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।
सडकमा बसेर आन्दोलन गरिरहँदा स्वास्थ्य समस्या पनि थपिँदै गएको छ। धर्नास्थल नजिक काठमाडौं मेडिकल कलेजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले नियमित स्वास्थ्य जाँच गरिरहेका छन्। शिविरमा पुगेका वृद्धवृद्धामा कुपोषण, डिहाइड्रेसन, ज्वरो र उच्च रक्तचापका समस्या देखिएको चिकित्सकले बताएका छन्।
हातमा औषधि लिएर चिकित्सकअगाडि बसेकी एक महिलाले भनिन्, ‘रोगले भन्दा पनि साहुको धम्की र सास्तीले ज्यान लिइसक्यो, अब त मर्ने कि बाँच्ने केही थाहा छैन ।’
उनीहरूको माग ठूलो छैन—ऋणको चक्रबाट मुक्ति, साहु–महाजनको शोषणबाट छुटकारा र गुमेको घरबार फिर्ता। तर त्यसका लागि उनीहरू १९ दिन हिँडेर काठमाडौं आउनुपर्यो र अहिले सात दिनदेखि सडकपेटीमा रात बिताउनुपरेको छ।
हरिहरभवनको सडकमा बसेका यी नागरिकका फुटेका पैताला र त्रिपालमुनिको बासले राज्यसँग एउटा सीधा प्रश्न गरिरहेको छ—घरबार गुमाएका नागरिकलाई न्याय कहिले मिल्छ? उनीहरू कहिले आफ्नै घर फर्किन पाउँछन्?
उत्तरको प्रतीक्षामा हरिहरभवनको सडकपेटीमा धर्ना जारी छ।