पोखरा । कास्की प्रहरीले मोडिफाइड साइलेन्सर जडान गरी बन्दुक पड्किएजस्तो चर्को आवाज निकाल्ने मोटरसाइकलविरुद्ध सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकललाई कारबाही गरेको छ । पछिल्लो दुई दिनमै ५१ वटा मोटरसाइकल नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार राति १८ वटा र शुक्रबार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । रातिको समयमा ध्वनि प्रदूषण फैलाउँदै सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेपछि अभियानलाई थप तीव्र पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार गत असोज २६ गतेदेखि सञ्चालनमा रहेको अभियानअन्तर्गत कारबाहीमा परेका सबै मोटरसाइकललाई मूल स्वरूपमा फर्काउन लगाइएको छ । साथै, यातायात व्यवस्था कार्यालयमार्फत २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था लागू गरिएको छ ।
कार्कीले एउटा मोटरसाइकलबाट निस्कने अत्यधिक आवाजले समेत ठूलो क्षेत्रमा ध्वनि प्रदूषण फैलाउने भएकाले यस्ता गतिविधिविरुद्ध कारबाही निरन्तर रहने बताए । ‘यस्ता सवारी चालकमा अरूलाई त्रसित बनाएर आनन्द लिने प्रवृत्ति देखिएको छ । यो एक प्रकारको मानसिक विकृति नै हो,’ उनले भने, ‘शान्ति–सुरक्षामा खलल पुर्याउने र प्रहरीसँग वादविवाद गर्ने ३६ जना चालकमाथि मुद्दासमेत चलाएका छौँ ।’
प्रहरीले अभियानलाई प्रभावकारी बनाउन सर्वसाधारणसँग पनि सहयोग मागेको छ । टोल–छिमेकमा मोडिफाइड साइलेन्सर जडान गरी चर्को आवाज निकाल्ने मोटरसाइकल देखिए फोटो वा सवारी नम्बर उपलब्ध गराउन आग्रह गरिएको छ । प्राप्त सूचनाका आधारमा सवारीधनीको विवरण खोजी गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ ध्वनि प्रदूषण नियन्त्रण र सडक अनुशासन कायम गर्ने उद्देश्यले अघि बढाइएको अभियान हो ।