भोजपुर ।भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानको वर्षभरको मेहनत जोखिममा परेको छ। मकै लगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुन्ड प्रवेश गरी बालीनाली नष्ट गर्न थालेपछि किसानलाई उत्पादन जोगाउन मुस्किल भएको हो।
विशेषगरी मकै पाक्ने समयमा जिल्लाका तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा बाँदरको समस्या बढेको किसानले बताएका छन्। भोजपुरका नौवटै स्थानीय तहका अधिकांश क्षेत्रमा बाँदरको उपद्रो देखिएको उनीहरूको भनाइ छ। खेतबारीमा बाँदरको हुल पसेर केही समयमै मकै तथा अन्य बालीमा क्षति पुर्याउने गरेको किसान बताउँछन्।
भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतले बाँदर नियन्त्रणका लागि तत्कालीनसँगै दीर्घकालीन उपाय आवश्यक रहेको बताए। “वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्ने बेलामा बाँदरले नष्ट गरिदिन्छन्,” उनले भने, “खेतबारीमा गएर दिनभरि कुर्नुपर्ने अवस्था छ। यसको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्छ।”
बाँदरले मकैबालीसँगै तरकारी तथा बगैँचाका फलफूलमा समेत क्षति पुर्याउन थालेपछि किसान थप समस्यामा परेका छन्। बालीनाली जोगाउन किसानले खेतबारीमा स–साना टहरा बनाएर नियमित निगरानी गर्ने गरेका छन्। परिवारका दुईदेखि तीन जनासम्म दैनिक रूपमा खेतबारीमा खटिएर बाँदर धपाउनुपर्ने अवस्था रहेको किसानको गुनासो छ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले किसानको मागका आधारमा स्थानीय तह र किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको बताए। “बाँदरको समस्या धेरै ठाउँमा देखिएको छ,” उनले भने, “तत्कालका लागि बाँदर धपाउने यन्त्र वितरणलगायतका उपाय अपनाइएको छ। तर समस्या दीर्घकालीन रूपमा समाधान गर्न थप प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक छ।”
बाँदरको बढ्दो उपद्रोका कारण कतिपय स्थानीयले अन्नबाली जोगाउन नसकेर बस्ती नै छाड्नुपर्ने अवस्था आएको बताएका छन्। खेतीपातीमा निर्भर परिवारका लागि बाँदरको समस्या आर्थिक क्षतिसँगै सामाजिक चुनौतीसमेत बन्दै गएको किसानको भनाइ छ।
किसानले बाँदर नियन्त्रणका लागि स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन योजना बनाउन माग गरेका छन्। अन्नबाली तथा फलफूलमा हुने क्षति न्यूनीकरण गर्दै किसानको जीविकोपार्जन सुरक्षित गर्न राज्यले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।