पोखरा । विदेश भ्रमणमा लैजाने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई सञ्चालक पक्राउ परेका छन् ।
कास्की प्रहरीले पोखरा–५, पस्र्याङस्थित कम्पनीको कार्यालयमा छापा मारेर सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगरका मोहम्मद यासेरलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले कम्प्युटरलगायत सामग्री पनि बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता भए पनि यसको योजनामा भारतीय नागरिकको मुख्य भूमिका रहेको खुलेको छ । कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्यान्ड भ्रमणका आकर्षक प्याकेज देखाएर ग्राहकबाट प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्म असुल्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न छुट र अफरको प्रलोभन देखाएर किस्ताबन्दीमै रकम संकलन गर्ने र पूर्ण भुक्तानीपछि कार्यालय बन्द गरेर सञ्चालक फरार हुने योजनाअनुसार ठगी गरिएको हो ।
छापा मार्ने क्रममा कार्यालयमा कार्यरत १५ युवती भेटिएका थिए । उनीहरूलाई आवश्यक सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य दुई सञ्चालक फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको र ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।