काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई जनताले अर्को विकल्प खोज्न नपर्ने ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा लामिछानेले तत्काल परिणाम खोज्ने प्रवृत्तिले समाजमा अस्थिरता बढाइरहेको बताए। आजको भोलि नै नतिजा खोज्ने प्रवृत्तिका कारण बारम्बार नयाँ विकल्पको खोजी हुने गरेको उल्लेख गर्दै उनले रास्वपा विकल्प खोज्न नभई आफैं भरपर्दो विकल्प बन्न आएको बताए।
पार्टीको संगठनात्मक अवस्थाबारे चर्चा गर्दै उनले रास्वपाको संरचना जगभन्दा ठूलो भएको स्वीकार गरे। जनताको तीव्र परिवर्तनको चाहना र भरोसाका कारण बलियो जग निर्माण हुनुअघि नै पार्टीले ठूलो आकार लिएको उनको भनाइ थियो।
‘रास्वपा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति बन्नुपर्छ।’
लामिछानेले पार्टीको जगदेखि नै संगठनलाई बलियो बनाउँदै जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए। पार्टीको संरचनालाई सुरक्षित र सुदृढ बनाउन आवश्यक ठाउँमा थप आधार तयार पार्ने उनको भनाइ थियो।