लमजुङ । केही वर्षअघिसम्म ग्रामीण पर्यटकीय गन्तव्यबारे जानकारी लिन आफन्त, साथीभाइ वा चिनजानका मानिससँग सोधपुछ गर्नुपथ्र्यो । कुन ठाउँ जाने, कसरी पुग्ने र कहाँ बस्ने भन्ने जानकारी मौखिक रूपमा फैलिन्थ्यो । अहिले भने मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट र कृत्रिम बौद्धिकता (एआई) ले ग्रामीण गन्तव्य चिनाउने माध्यम बदलिदिएको छ ।
पर्यटकले सामाजिक सञ्जालमा देखेका तस्बिर तथा भिडियोका आधारमा गन्तव्य छनोट गर्ने, पुग्ने बाटो खोज्ने, घरबासको जानकारी लिने र भ्रमणको योजना बनाउन थालेका छन् । तर लमजुङको ग्रामीण पर्यटनको आधार भने प्रविधिबाट बनेको होइन । स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य, परम्परा, खानपान र स्थानीयको आतिथ्यलाई पर्यटनसँग जोड्ने गाउँलेको पहलबाट यसको जग तयार भएको हो ।
लमजुङको ग्रामीण पर्यटनको प्रमुख उदाहरण क्होलासोथार गाउँपालिका–३ घलेगाउँ हो । विसं २०५७ मा १२ घरबाट सुरु भएको घरबास (होमस्टे) अहिले ४२ घरमा विस्तार भएको छ । गत वर्ष मात्रै घलेगाउँमा करिब २५ हजार पर्यटक पुगेका पर्यटनकर्मी प्रेमबहादुर घलेले बताए ।
गाउँमा रोजगारी र आम्दानीका अवसर सीमित हुँदै गएपछि स्थानीयस्तरमै सम्भावना खोज्ने क्रममा घरबासको अवधारणा अघि बढाइएको उहाँको भनाइ छ । स्याङ्जाको सिरुबारीमा घरबास सञ्चालनबाट स्थानीयले आम्दानी गरेको जानकारी पाएपछि त्यहाँको अभ्यास अध्ययन गरी घलेगाउँमा पनि घरबास सुरु गरिएको थियो ।
“त्यतिबेला गाउँलेलाई आफ्नो संस्कृति र मौलिकता पनि आम्दानीको आधार बन्न सक्छ भन्ने थाहा थिएन,” घलेले भन्नुभयो, “पाहुना आएपछि राम्रोसँग राख्ने र खुवाउनेबाट सुरु भएको घरबास विस्तारै व्यवस्थित हुँदै गयो ।”
सुरुआती समयमा गाउँमा आउने पाहुनालाई ‘प्रेम घलेको पाहुना’ भनेर चिनिन्थ्यो । पछि गाउँका अन्य परिवार पनि घरबासमा जोडिँदै गए । पर्यटकको आगमन बढेसँगै गाउँको सरसफाइ, सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत पूर्वाधारमा समेत सुधार हुँदै गएको छ ।
घलेगाउँमा गुरुङ संस्कृति, परम्परागत जीवनशैली, स्थानीय खानपान र हिमाली दृश्य पर्यटकका प्रमुख आकर्षण बनेका छन् । पर्यटकको मागअनुसार सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रयोग र गाउँको सरसफाइमा पनि ध्यान दिइँदै आएको छ ।
सामाजिक सञ्जालबाट पर्यटकको खोजी
घलेगाउँबाट सुरु भएको घरबासको अभ्यास अहिले लमजुङका विभिन्न ग्रामीण बस्तीमा फैलिएको छ । मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङमा पनि सामाजिक सञ्जालमार्फत पर्यटक पुग्ने क्रम बढेको छ ।
सिउरुङमा पहिले आफन्त तथा साथीभाइबाट जानकारी पाएर पर्यटक आउने गरेकामा अहिले फेसबुक, युट्युब, टिकटकलगायत माध्यमबाट गाउँबारे जानकारी लिएर आफैँ सम्पर्क गर्ने पर्यटक बढेका छन् । हाल सिउरुङमा १८ घरमा घरबास सञ्चालनमा रहेको होमस्टे सञ्चालक परकाशी गुरुङले बताए।
उहाँका अनुसार पदमार्ग, पर्यटन पूर्वाधार तथा स्थानीय संस्कृति र परम्पराको संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ ।
क्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार पर्यटनले स्थानीयस्तरमा आम्दानीका अवसर बढाउनुका साथै ग्रामीण महिलाको सहभागिता पनि बढाएको छ ।
“विशेषगरी ग्रामीण महिलाको पर्यटन गतिविधिमा सहभागिता बढेको छ,” उनले भने।
उहाँका अनुसार घलेगाउँ र भुजुङ आउने धेरै पर्यटक एक रात बसेर फर्किने गरेका छन् । पर्यटकको बसाइ लम्ब्याउन पदमार्ग विकास, गुरुङ सांस्कृतिक पदमार्गको प्रवर्द्धन तथा नयाँ पर्यटकीयस्थलमा लगानी आवश्यक रहेको उहाँको भनाइ छ ।
पर्यटनसँग जोडिँदै स्थानीय कृषि
लमजुङका ग्रामीण क्षेत्रमा पर्यटनलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रयास पनि भइरहेको छ । घरबासमा कोदो, गुन्द्रुक, स्थानीय तरकारी, स्थानीय कुखुरालगायत उत्पादन प्रयोग हुन थालेपछि किसानले बजार पाउने र पर्यटकले स्थानीय स्वाद चाख्न पाउने अवस्था बनेको छ ।
घरबास सञ्चालक दीर्घराज घलेका अनुसार अहिले पर्यटकले टिकटक, फेसबुक, युट्युब र एआईबाट जानकारी लिएर गाउँमा आउने गरेका छन् ।
“मोबाइलमा देखेको गाउँ प्रत्यक्ष आएर संस्कृति, परम्परा, जीवनशैली र वातावरण अनुभव गर्ने चाहना भने उस्तै छ,”उनले भने ।
पर्यटकीय मौसममा एकैपटक चारदेखि पाँच सयसम्म पर्यटक आउने अवस्था हुँदा कतिपय घरबासको क्षमताले धान्न कठिन हुने गरेको उहाँले बताउनुभयो । घरबास तथा पर्यटनबाट मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
पर्यटकबाट प्राप्त आम्दानी सबै घरमा समान रूपमा पुगोस् भनेर घरबास सञ्चालकले पालैपालो पाहुना राख्ने व्यवस्था समेत गरेका छन् ।
पर्यटकको बसाइ लम्ब्याउने चुनौती
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका कार्यसमिति सदस्य रामकुमार श्रेष्ठका अनुसार लमजुङमा पदमार्ग र घरबास पर्यटनको सम्भावना भए पनि पर्यटकलाई लामो समय रोक्ने पर्याप्त पर्यटन उत्पादन र गन्तव्यको विविधता अझै विकास हुन सकेको छैन ।
उहाँका अनुसार लमजुङ हुँदै मनाङ जाने पदयात्री तथा हिमालचुली क्षेत्रतर्फ जाने पर्यटकलाई जिल्लामै केही दिन रोक्न सकिने सम्भावना छ । त्यसका लागि पदमार्ग, सडक, आवास तथा अन्य पर्यटन सेवा व्यवस्थित गर्नुका साथै नयाँ पर्यटन उत्पादन विकास गर्न आवश्यक छ ।
डिजिटल माध्यमबाट गन्तव्य खोज्ने पर्यटकको सङ्ख्या बढिरहेकाले लमजुङले पनि सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ । अहिले कम चर्चामा रहेका गन्तव्यलाई पनि डिजिटल माध्यमबाट पर्यटकसम्म पुर्याउन सकिने बताए ।
लमजुङमा भुजुङ, राइनासकोट, पसगाउँ, नरुवाल, भुस्मेगाउँ, सीङ्दी, तुर्लुङकोट, घेर्मुललगायत क्षेत्रमा घरबास सञ्चालनमा छन् । जिल्लाका विभिन्न ग्रामीण बस्तीमा गुरुङ, नेवार, तामाङ, मगर र दुरा समुदायका घरबास सञ्चालनमा रहेका छन् ।
सामाजिक सञ्जालले देखाएको गाउँ प्रत्यक्ष अनुभवमा
दोर्दी गाउँपालिका–४ नौथरसेराका लक्ष्मण गुरुङ साथीभाइ तथा आफन्तबाट लमजुङका पर्यटकीय गाउँ र घरबासबारे जानकारी पाएर पहिलोपटक भ्रमणमा आउनुभएको थियो । स्थानीयको स्वागत, सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार र गाउँको वातावरणले आफू प्रभावित भएको बताए।
काठमाडौंँबाट घलेगाउँ पुग्नुभएकी एरिना महर्जनका लागि भने सामाजिक सञ्जाल नै गन्तव्य छनोटको मुख्य माध्यम बन्यो । सामाजिक सञ्जालमा घलेगाउँका तस्बिर तथा भिडियो देखेपछि उहाँले घरबास, सडक, स्थानीय संस्कृति र खानपानबारे थप जानकारी लिएर भ्रमणको योजना बनाएको थियो ।
“सामाजिक सञ्जालमा देखेको गाउँ प्रत्यक्ष हेर्ने इच्छा भयो,” उनले भने ।
घलेगाउँ पुगेपछि हिमाल, गुराँस, गुरुङ संस्कृति, परम्परागत घर र स्थानीय परिकारले आफूलाई आकर्षित गरेको उहाँले बताए । गाउँसम्म पुग्ने सडकमा थप सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।
लमजुङको ग्रामीण पर्यटनको यात्रा हेर्दा सूचना पाउने माध्यम बदलिएको छ, तर पर्यटकले खोज्ने अनुभव भने उस्तै छ । पहिले आफन्त र साथीभाइले गाउँ चिनाउँथे भने अहिले मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट र एआईले त्यही काम गरिरहेका छन् ।
त्यसैले अब ग्रामीण पर्यटन प्रवर्द्धन गन्तव्यको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पुर्याउने विषयमा मात्र सीमित नहुने देखिन्छ । पर्यटकलाई गाउँसम्म पुर्याएपछि बसाइ लम्ब्याउने वातावरण बनाउने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने, पदमार्ग तथा पूर्वाधार सुधार गर्ने र पर्यटनबाट आएको आम्दानीलाई स्थानीय उत्पादन तथा जीवनशैलीसँग जोड्ने विषय पनि उत्तिकै महत्वपूर्ण बनेका छन् ।
प्रविधिले गाउँ चिनाउने माध्यम बदले पनि लमजुङको ग्रामीण पर्यटनको मूल आधार भने स्थानीय संस्कृति, प्रकृति, खानपान, जीवनशैली र स्थानीयवासीको आतिथ्य नै बनेको छ ।