काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले जन्मेदेखि हालसम्म मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध मदिरा सेवन गरी जथाभावी बोलेको तथा अश्लील भिडियोसँग जोडेर भ्रामक आरोप लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले आफूलाई लागेको आरोप प्रमाणित गर्न संसद्कै स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट आफ्नो शरीरको सम्पूर्ण परीक्षण गर्नसमेत चुनौती दिएका छन् ।
‘म आज आफैंलाई अग्निपरीक्षा दिन संसद्को रोस्ट्रममा उभिएको छु,’ उनले भने, ‘मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म मेरो शरीरमा मदिराको एक थोपा पनि प्रयोग भएको प्रमाण भेटिएमा म सांसद पदबाट राजीनामा दिन तयार छु।’
शाहीले गलत तथा भ्रामक सूचनाका कारण आफू गम्भीर मानसिक दबाबमा परेको उल्लेख गर्दै इतिहासमा गलत सूचनाकै कारण भीमसेन थापाले आत्महत्या गरेको प्रसंगसमेत उठाए ।
उनले आफूविरुद्ध आरोप लगाउनेहरूको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरे । ‘यदि ममाथि लगाइएका आरोप गलत साबित भए, भ्रामक सूचना फैलाएर आरोप लगाउनेहरूको पनि स्वास्थ्य परीक्षण गरिनुपर्छ,’ उनले भने ।
सांसद शाहीले आफूविरुद्ध फैलाइएका आरोप व्यक्तिगत रूपमा मात्र नभई समाजमा गलत सूचना फैलाउने प्रवृत्तिको उदाहरण भएकोसमेत बताए।