काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्।
मंगलबार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका क्रममा पूर्वमन्त्री गुरुङ संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्। उनलाई संस्थापन इतर समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्।
कोइरालाको सचिवालयका अनुसार मनाङेलाई महाधिवेशन तयारीका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारी समेत दिइएको छ।
मनाङे यसअघि गण्डकी प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यरत थिए। कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न नेता तथा व्यक्तिहरू पार्टीका गतिविधिमा जोडिने क्रम बढेको छ।