काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन इतर समूहले प्रदेशदेखि क्षेत्रीय सभापतिसम्मलाई राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र गरेको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले भेलामा सहभागी हुन औपचारिक पत्र पठाएका छन्।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने यस राष्ट्रिय भेलामा सहभागी हुन प्रदेश तथा जिल्ला तहका महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरिएको छ।
त्यसैगरी, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिहरूलाई समेत भेलामा उपस्थित हुन भनिएको छ।
मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको चुनौती तथा कांग्रेसभित्र देखिएको विवादबारे भेलामा विस्तृत छलफल हुनेछ।
सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई असन्तुष्ट इतर समूहले अस्वीकार गर्दै आएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको यो भेलालाई देउवा आफैंले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।