काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार साँझ भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच करिब ५० मिनेट छलफल भएको बताइएको छ। पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच दूरी बढेको चर्चा भइरहेका बेला लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
भेटमा पार्टी र सरकारबीचको समन्वय, आपसी समझदारी तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको रविनिकट एक नेताले जानकारी दिए।
केही समययता सरकारका कामकारबाहीलाई लिएर रास्वपाका केही सांसदहरूले आलोचना गर्दै आएका छन्। जनजीविकासँग जोडिएका विषयमा सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
गत शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लिएको संकेत गरेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा चलेको थियो। पछिल्लो भेटलाई दुई पक्षबीच देखिएको दूरी घटाउने र सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ।