काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा सरकारका गलत कामबारे प्रश्न उठाउनु सकारात्मक पक्ष भएको बताएका छन् ।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले संसदीय लोकतन्त्रमा आफ्नै दल सरकारमा सहभागी भए पनि सरकारका गलत कामको विरोध गर्न सकिने बताए ।
‘रास्वपाका सांसदहरूले संसदमा सरकारले गरेका नराम्रा कामबारे बोल्नु ठिक हो,’ थापाले भने, ‘आफ्नो पार्टी सरकारमा छ भन्दैमा मौन बस्नुपर्छ भन्ने हुँदैन । हामी पनि कांग्रेस सरकारमा रहेका बेला गलत निर्णय र कामको विरोधमा बोल्ने गर्थ्यौँ ।’
तर, सरकारमा सहभागी भइसकेपछि विगत र वर्तमानको जिम्मेवारीबाट पन्छिन नमिल्ने थापाको भनाइ थियो । उनले रास्वपाका नेताहरूलाई विगतका विषयमा कांग्रेससँग प्रश्न गर्ने र वर्तमान सरकारका कमजोरीको जिम्मेवारी प्रधानमन्त्रीलाई मात्र दिने प्रवृत्तिबारे स्पष्ट हुनुपर्ने बताए ।
‘रास्वपाका साथीहरूलाई हामीले सम्झाउनुपर्नेछ– हामी मन्त्री नहुँदा पनि विगत ३५ वर्षको सबै जिम्मा हामीले लिनुपर्ने ? तर अहिलेको सरकारले कुनै गल्ती गर्दा त्यसको जिम्मा प्रधानमन्त्रीले मात्रै लिनुपर्ने ? यस्तो हुँदैन,’ उनले भने ।
थापाले सरकारमा सहभागी सबै दलले सरकारका राम्रा तथा नराम्रा दुवै कामको सामूहिक जिम्मेवारी लिनुपर्नेमा जोड दिए । उनले सरकारमा सहभागी भइसकेपछि साझेदार दलहरूबीच उत्तरदायित्व पनि समान रूपमा बाँडिनुपर्ने धारणा राखे ।
सानेपामा जारी बैठकमा थापाले कांग्रेसको आगामी राजनीतिक रणनीति तथा वर्तमान सरकारप्रतिको पार्टीको धारणा लगायतका विषयमा आफ्नो धारणा राखिरहेका छन् ।