काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ। भेलालाई पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार चुन्देवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. शशांक कोइरालाले भेलाको तयारीबारे जानकारी दिँदै पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायिक पुनरावलोकनको अनुमति दिएको निर्णयको स्वागत गरे। देउवाका तर्फबाट दायर पुनरावलोकन निवेदनमा सर्वोच्चले साउन २१ गते अनुमति दिएको उल्लेख गर्दै उनले अन्तिम फैसलाबाट पार्टीले न्याय पाउने विश्वास व्यक्त गरे।
सर्वोच्चको पछिल्लो निर्णयले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कार्यकर्तामा थप उत्साह थपेको उनले दाबी गरे।
“अदालतको यो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ, जसका कारण भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ,” कोइरालाले भने।
उनले पूर्णबहादुर खड्का अस्वस्थ रहेकाले र शेखर कोइराला विराटनगरमा पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले भेलामा उपस्थित हुन नसके पनि अभियानप्रति दुवै नेताको पूर्ण समर्थन रहेको बताए।
साउन २६ गते देउवा स्वदेश फर्किने क्रममा धरपकड हुन सक्ने आशंकालाई अस्वीकार गर्दै कोइरालाले त्यस्तो अवस्था आए कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी दिए। आफू देउवालाई भेट्न हङकङ नगएको पनि उनले स्पष्ट पारे।
कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक संगठन र कार्यकर्तालाई भेलामा सहभागी हुन आह्वान गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तका आधारमा पार्टीलाई थप सुदृढ बनाउने अभियानमा साथ दिन आग्रह गरे।