काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन वा सच्याउन माग गरेका छन्। उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसलाई अभिलेखमा राख्न नमिल्ने उनले बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा दुलालले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियता र नेपालको भूभागसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै सभामुखसँग रुलिङको माग गरे। प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई उक्त अभिव्यक्तिबारे स्पष्ट पार्नसमेत उनले आग्रह गरे।
“हामी राष्ट्रको लागि आवश्यक पर्दा रगत बगाउन सक्छौँ, आफ्नै बलि दिनसक्छौँ । तर हामी राज्यप्रतिको कुनैपनि विवादस्पद भनाईलाई हामी रेकर्डमा राखिराख्न सक्दैनौँ,” दुलालले भने।
प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट नहटेसम्म विपक्षी दलहरूको संसद् अवरोध जारी रहने चेतावनी पनि उनले दिए।
प्रधानमन्त्री साहले गत जेठ १७ गते प्रतिनिधिसभामा ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसयता विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।