काठमाडौं। नेपाली काँग्रेसकी सांसद गीता गुरुङले खुला प्रतिस्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन संयुक्त समितिको बैठकमा बोल्दै गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियामै प्रश्न उठेको बताइन्। प्रतिष्पर्धी उम्मेदवारको अन्तर्वार्ता नै नसकिँदै अध्यक्ष नियुक्त गरिएको भन्दै गुनासो आएको उल्लेख गर्दै उनले सरकारले त्यसबारे स्पष्ट पार्नुपर्ने माग गरिन्।
‘नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अन्तर्वार्ता समेत नसकिकन नियुक्त गरेको भनेर अन्य उम्मेदवारले गुनासो गरिरहेका छन्। यो विषयमा भएको के हो ?’ उनले भनिन्।
गुरुङले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएको दुई महिना बितिसक्दा पनि रेक्टर र रजिस्ट्रार नियुक्त हुन नसक्दा कार्यकारी परिषद्का काम र बजेट पारित प्रक्रिया प्रभावित भएको बताइन्। विश्वविद्यालयका केही नियुक्तिमा समेत कानुन मिचिएको आरोप लगाउँदै उनले सरकारको ध्यानाकर्षण गराइन्।
त्यसैगरी, त्रिवि सेवा आयोगको सदस्यमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनकी काकी रेजिना बेनलाई नियुक्त गरिएकोप्रति पनि उनले आपत्ति जनाइन्।